आन्तरिक मूल्यांकनको ४० मा ४० नम्बरमा पठाएपछि

  • Published Date : 2021-06-26
  • nepaltale.com

काठमाडौं। मध्यपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङतर्फको स्नातकोत्तरको परीक्षामा भएको अनियमिततामा निर्देशक विश्वनाथ यादव दोषी देखिएका छन् । यादवले विषय शिक्षकले दिएको अंकलाई लुकाएर विद्यार्थीलाई आफूखुसी अंक दिएका हुन् । परीक्षामा भएको अनियमितताका सम्बन्धमा छानबिन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनमा इन्जिनियरिङ कार्यक्रमका निर्देशक यादव दोषी देखिएका हुन् ।

समितिले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रतिवेदन पेस गरेको छ। कार्यक्रम निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर विषय शिक्षकले पठाएको नभई मनलाग्दी रुपमा पठाएको विषय छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको उपकुलपति सिहंले जानकारी दिए।



‘शैक्षिक अपराध भएको देखिएको छ। दोषीउपुर कडाभन्दा कडा कारबाही हुन्छ। कानुनी हिसाबले २४ घण्टाभित्र स्पष्टीकणका लागि बोलाइएको थियो तर यादवले दिएको जबाफ सन्तोषजनक छैन।’

प्रतिवेदनअनुसार यादवले शैक्षिक अपराध गरेको देखिएकाले सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइने सिंहले बताए। उनले भने,‘शैक्षिक अपराध भएको देखिएको छ। दोषीउपुर कडाभन्दा कडा कारबाही हुन्छ। कानुनी हिसाबले २४ घण्टाभित्र स्पष्टीकरणका दिन भनिएकाे थियो तर यादवले दिएको जबाफ सन्तोषजनक छैन। यसमा लापरबाही मात्र होइन यसो गर्नुमा ठूलो डिजाइन छ। त्यसो भएकाले कानुनी प्रक्रियाअनुसार अघि बढ्छौं।’

उपकुलपति सिंह हतारमा निर्णय गर्नेभन्दा पनि अबका दिनमा यस्तो काम कसैले पनि गर्न आँट गर्न नसक्ने गरी दण्डित गर्नुपर्ने पक्षमा छन्। ‘गल्ती भएको स्वीकार गर्दा एकपटकलाई माफी दिन सकिन्थ्यो तर यो त अपराध हो। अपराध गर्नेलाई माफी दिन सकिने कुरा भएन शैक्षिक अपराध गर्नेलाई त्यसै छाड्न मिल्दैन’, उनले भने।

प्रा.डा. दीपबहादुर रावलको नेतृत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा निर्देशक यादव दोषी देखिएका हुन्। कार्यक्रम निर्देशक यादवले छानबिन समितिलाई दिएको स्पष्टीकरणमा नै उनले आफ्नो गल्ती स्वीकारेका छन्।

इन्जिनियरिङजस्तो विषयमा हचुवाको भरमा नम्बर दिँदै आएको गुनासो विद्यार्थीको छ। चिट चोरेर परीक्षा दिन पाइने र सर्टिफिकेटका लागि मात्र पढ्ने जागिरे विद्यार्थी पनि भएकाले यादवले त्यसको फाइदा लिँदै मनोमानी गरेका हुन्। प्रयोगात्मक कक्षा सञ्चालन नभएको भन्दै डिन कार्यालयले मास्टर्स तेस्रो सेमेस्टरको स्ट्रक्चरल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छैन। आन्तरिक मूल्यांकनको ४० मा ४० नम्बरमा पठाएपछि यसको नतिजा डिन कार्यालयले रोकिदिएको छ। सबै विषयमा समान नम्बर आएपछि विवाद बढेको थियो।