लोक सेवाले पदाधिकारी पाएसँगै थाल्यो १० सहसचिवको सचिवमा बढुवाको तयारी

  • प्रकाशित मिति : २०७८ असार १३, आईतवार
  • nepaltale.com

काठमाडौं। लोक सेवा आयोगले पदाधिकारी पाएसँगै तीन महिनादेखि अवरुद्ध राजपत्रांकित विशिष्ट श्रेणी (सचिव)को बढुवा सिफारिस यही साताबाट सुरु हुने भएको छ । लोकसेवाका अध्यक्षको अध्यक्षतामा हुने बढुवा समितिको सिफारिसमा मन्त्रिपरिषद्बाट सचिव बढुवा गर्ने व्यवस्था छ ।

अहिले सचिवका १० सिट रिक्त छन् । त्यसमा वरिष्ठतम सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, खानेपानी मन्त्रालय, मानव अधिकार आयोग, गण्डकी प्रदेश प्रमुख सचिव र कर्णाली प्रदेश प्रमुख सचिवविहीन छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको एउटा पद रिक्त छ ।

यसैगरी, कृषि तथा पशुपक्षी विकास मन्त्रालय (पशुपक्षी) र शिक्षा विज्ञान तथा प्रविधि (विज्ञान प्रविधि) र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पनि सचिव पद रिक्त छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव तीर्थराज ढकालले पनि चैतमा अवकाश पाएका हुन् । गण्डकी प्रदेश सरकारमा चैतबाट प्रमुख सचिव रिक्त छन् । तत्कालीन सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाएपछि प्रदेश सरकार प्रमुख सचिवविहीन भएको हो ।

बागमती प्रदेश सरकार वैशाखदेखि तथा कर्णाली प्रदेश सरकार जेठबाट प्रमुख सचिवविहीन छ । बागमतीका प्रमुख सचिव मानबहादुर विकेले ६ वैशाखमा र कर्णालीका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले १५ जेठमा अवकाश पाएका हुन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले वैशाखमा अवकाश पाएका थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कँडेल त्यो पदमा लगिए । त्यसपछि कृषि मन्त्रालयमा सचिव पद खाली छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अवकाश पाएपछि उनको ठाउँमा पुनर्निर्माण प्राधिकरणका सचिव मणिराज गेलाल पुगेका छन् । अहिले प्राधिकरण निमित्त सचिवको भरमा चलिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञापन प्रविधि) सचिव सञ्जय शर्मा, खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले जेठमा अवकाश पाएका हुन् ।अहिले खानेपानी मन्त्रालय निमित्त सचिव सुनीलकुमार दासले सम्हाल्दै आएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनालीले २ असारमा अवकाश पाए ।

राष्ट्रपति कार्यालयका सचिव सचिव हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएका छन् । उनी झन्डै साढे दुई वर्ष कार्यकाल बाँकी छँदै अख्तियार पुगेका हुन् । रक्षा मन्त्रालय पनि छिटै सचिवविहीन हुँदै छ । मन्त्रालयका अहिलेका सचिव रेश्मीराज पाण्डेले १७ असारमा अवकाश पाउँदै छन् ।

लोक सेवा आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले रिक्त पदको तीन गुणा बढी सहसचिवको नाम सिफारिस गर्नेछ । त्यसमध्ये एक जनालाई सरकारले बढुवा गर्नेछ ।