आज यी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाकाे आग्रह

  • प्रकाशित मिति : २०७८ असार १६, बुधबार
  • nepaltale.com

काठमाडौं। देशका विभिन्न नदीहरूमा बाढी आउने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज बुधबारदेखि मनसुनी गतिविधि फेरि सक्रिय बनेको र अधिकांश भू-भागमा अति भारी वर्षा हुने भएकाले बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ ।

अहिले बिहानको मापनअनुसार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तर नारायणी र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ ।


दिउँसोसम्म यी नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्त्य रहने, तमोर, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु, तथा त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।


यस्तै पश्चिम राप्ती र बबई नदीको बहाव सामान्य रहने, पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीमा मध्यमदेखि भारी वर्षा भएर बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्ने अनुमान गरिएको छ ।