सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाउने तयारी

  • Published Date : 2021-07-04
  • nepaltale.com

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्दै थप एक साता लम्व्याउने तयारी भएको छ ।

उपत्यकाका काठमाडौ,ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको आज बस्ने संयुक्त बैठकले यसबारेमा थप छलफल गरेर निर्णय गर्नेछ ।



‘निषेधाज्ञाबारे निर्णय गर्न आज दिउँसो तीन बजे बैठक बस्दैछ । बैठकपछि के गर्ने के नगर्ने भन्ने निर्णय हुन्छ’, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, ‘सार्वजनिक यातायातको जोरबिजोर प्रणाली खारेज गरेर नीजि सवारी साधनमा भने जोरबिजोर कायमै राख्ने कि ? भन्ने छलफलको विषय छ ।’

स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीको बैठकले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको समेत सुझावका आधारमा निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्व्याउने तयारी गरेको छ । साथै बैठकमा लामो दुरीका सार्वजनिक यातायात खोल्ने बारेमा समेत छलफल हुनेछ ।

तर विद्यालय, पार्टी प्यालेस, सिनेमा हल खुल्न भने अझै केही समय लाग्नेछ ।