विप्लव र माधव नेपालबीच भेटवार्ता, के- के भयो कुराकानी ?

  • Published Date : 2021-07-15
  • nepaltale.com

काठमाडौं। नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेत्र बिक्रम चन्द विप्लव कोटेश्वर पुगेका छन् । बिहिबार नेपाल भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर उनको निवास कोटेश्वर पुगेका हुन् ।

अर्ध भूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिमा आएको विप्लबले पछिल्लो समय बामपन्थी नेताहरुसँगको भेटघाटलाई तिब्रता दिईरहेका छन् । प्रचण्डलाई भेटेको भोलिपल्टै माधव नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका हुन् ।



ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । उनीहरुबीच वृहत एकिकृत कम्युनिष्ट पार्टी निर्माणबारे छलफल भएको श्रोतले बतायो ।

विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर, सो सम्झौता बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।

महासचिव विप्लवले बुधबार मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका थिए ।

प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।