काठमाडौं। आजदेखि सुरु हुने संसद् अधिवेशनको रणनीति तय गर्न दलहरू छलफलमा जुट्दैछन्। सत्तारुढ नेपाली कांग्रेस, प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमाले छुट्टाछुट्टै छलफलमा जुट्दैछन्।
सत्तारुढ दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। दलको बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जानकारी दिएको छ।
बैठकमा संसद्मा प्रस्तुत हुने रणनीति र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।
उता, प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले पनि संसदीय दलको बैठक बतोलाएको छ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार संसदीय दलको बैठक आज बिहान ११ बजेका लागि सिंहदरबारस्थित दलको कार्यालयमा बोलाइएको छ।
बैठकमा सरकार र सदन सञ्चालनका विषयमा छलफल हुने बताइएको छ।
प्रतिनिधि सभा पुनस्र्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि बनेको सरकारमा माओवादीबाट दुई जना मन्त्री बनेका छन्।
माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्। सरकारमा जाने बाँकी मन्त्री नाम माओवादीले टुंग्याउन सकेको छैन।
माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुनेगरी मन्त्री बनाउने तयारी गरेको छ।
प्रतिनिधि सभाको पहिलो दल भएर पनि प्रतिपक्षको बेञ्चमा पुगेको नेकपा (एमाले)ले आज स्थायी कमिटीको बैठक बोलाएको छ। बिहान ११ बजे तुलसीलाल स्मृति भवन च्यासल, ललितपुरमा बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
यसअघि अस्ति पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने, सर्वोच्च अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने लगायतका निर्णय गरेको थियो।
तर, बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको थिएन। बैठक रोक्न माग गर्दै कार्यदलमा रहेका नेपाल पक्षका नेताहरू बैठकस्थल पुगेका थिए। तर, अध्यक्ष ओलीले बैठक रोक्ने कुनै संकेत नगरेपछि उनीहरू बाहिरिएका थिए।
आजको बैठकमा पनि नेपाल पक्ष जाने नजाने निश्चित भइसकेको छैन।
प्रतिनिधि सभा पुनस्र्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि एमाले प्रमुख प्रतिपक्ष बनेको छ।
जसका कारण एमालेभित्रको एकता पनि अन्योलमा परेको छ। हिजो विघटित कार्यदलका नेताहरूले सिंहदरबारमा अनौपचारिक छलफल गरेका थिए।
सिंहदरबारको छलफलमा उनीहरूले यसअघि भएको १० बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालेका थिए।
त्यसपछि विघटित कार्यदलमा रहेका नेताहरूले हिजो साँझै अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। भेटमा ओलीले पहिले माधव नेपालसँग कुरा गर्न भनेका थिए।