मन्त्रिपरिषद् विस्तारको तयारी, यस्तो छ आकांक्षीको लर्को

  • Published Date : 2021-07-21
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेका छन् । चार मन्त्रीकै भरमा सरकार चलाइरहँदा विभिन्न प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा लागेका हुन् ।

मन्त्रिमण्डल विस्तारबारे प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अन्य नेताहरूबीच छलफल तिब्र भएको छ । तर अझै ठोस सहमति भने भइसकेको छैन ।



मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र माओवदी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डबीच हिजो दुई पटक भेटवार्ता भएको थियो । एमालेको माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास तिब्र छ । त्यो प्रयासमा प्रधानमन्त्री देउवा आफैं पनि लागेका छन् भने माओवादी अध्यक्ष प्रचण्ड पनि सक्रिय छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने निश्चित भएको छ । त्यही अनुसार दलबीच भागबन्डाको तयारी भइरहेको बुझिएको छ ।

भागबन्डामा कांग्रेसले सात मन्त्रालय आफूसँगै राख्न चाहेको छ । माओवादी केन्द्र र जसपाको उपेन्द्र पक्षलाई ६–६ मन्त्रालय दिने तयारी छ । एमालेको नेपाल पक्ष पनि सहभागी भए मन्त्रालयको संख्या घट्नेछ ।

मन्त्रीका लागि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासँग आकांक्षीहरूले ‘लबिङ’ तीव्र पारिरहेका छन् । देउवासँग कांग्रेसभित्रैको रामचन्द्र पौडेल समूहले पनि उपप्रधानसहितको मन्त्रालयमा दाबी गर्दै आइरहेको छ ।

कांग्रेसले अब आफूले लिएका बाहेक चार मन्त्रालय पाउने सम्भावना छ । जसमा आफ्ना गुटकासँगै पौडेल पक्ष र नेता कृष्णप्रसाद सिटौलालाई मिलाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री देउवा छन् । देउवाले महाधिवेशनका आकंक्षीलाई मन्त्री बनाएर व्यवस्थापन गर्ने योजना बनाएका छन् ।

कांग्रेसमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुरले ने्तृत्व गरेको समूह (संस्थापन), वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको समूह र अर्का नेता कृृष्णप्रसाद सिटौलाले नेतृत्व गर्ने समूह छ। तीन समूहमध्ये प्रधानमन्त्री देउवापक्षले चार मन्त्रालय पाउने, वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले दुई र अर्का नेता कृष्णप्रसाद सिटौलापक्षले एक मन्त्रालय पाउने बताइएको छ।

देउवा समूहबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीले शपथ लिइसकेका छन्। उक्त समूहबाट बढीमा दुई जना थपिनेछन्। जसमा महिलाबाट पछिल्लो समय डिला संग्रौलाको नाम चर्चामा छ। पुष्पा भुसालको नाम पनि चर्चामा रहे पनि उनी संसदीय दलको सचेतक रहेकाले संग्रौलालाई मन्त्री बनाउन दबाब बढेको छ।

त्यस्तै, मधेशबाट सप्तरीका तेजुलाल चौधरीको नाम पनि मन्त्रीका रुपमा चर्चामा आएको छ। पौडेल पक्षले उपप्रधानमन्त्रीमा समेत दाबी गरेको छ। महामन्त्री शशांक कोइराला र नेताहरू प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये एकलाई उपप्रधानमन्त्रीको माग गर्ने उक्त समूहले निर्णय गरेको छ।

सोही समूहबाट मिनेन्द्र रिजाल र दिलेन्द्र बडुको नाम पनि चर्चामा छ। भौगोलिक अवस्था हेरेर मन्त्री चयन गरिए बडुको सम्भावना बढी रहेको उक्त समूहका एक नेताले बताए। उनी दार्चुलाका हुन्।

सिटौला समूहले एक मात्रै मन्त्रालय प्राप्त गर्ने भएको छ। उक्त समूहबाट गगन थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकलाई मन्त्री बनाउने बताइएको छ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नभए तीन दलको भागमा मन्त्रालय थपिने छन्। माधव पक्ष सरकारमा सहभागी नभए कांग्रेसले १० मन्त्रालय आफ्नो भागमा राख्ने बताएको छ। त्यो अवस्थामा कांग्रेसका तीनवटै समूहले पाउने मन्त्रीको संख्या पनि थपिनेछ।

माओवादीको भागमा परेका मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशी श्रेष्ठले दाबी गरेका छन् ।

हाल कांग्रेस र माओवादी केन्द्रबाट सरकारमा दुई–दुई जना मन्त्री छन् । प्रधानमन्त्रीसहित अहिले मन्त्रिपरिषद् पाँच सदस्यीय छ । संविधानतः प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन पाइन्छ ।