बीपीलाई यसरी सम्झदैछ काँग्रेस

  • Published Date : 2021-07-21
  • nepaltale.com

काठमाडौं। नेपाली काँग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थिति अनुसार मनाउन परिपत्र गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए ।



वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । राजनीतिमा बीपी’ र नेपाली साहित्यमा विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक थिए ।

उनले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राखे । राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बनेका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उनी पहिलो निर्वाचित प्रधानमन्त्री भए । उनले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएन ।

निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो । त्यसपछि उनी आठ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र संघर्षमै उनको जीवन बित्यो । मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने मान्यताबाट अगाडि बढ्नु भएका बीपीले चाहेको भए जीवनभर जस्तै प्रधानमन्त्री बन्नु सक्थे । तर उनले सत्ताभन्दा निष्ठा, आदर्श र त्यागको राजनीति गरे ।