स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायबाट समुदायमा संक्रमण फैलिएको अवस्थामा त्यसलाई पूर्ण रूपमा नियन्त्रणमा लिने गरी घरमै उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको छ।
कोरोना महामारीको सम्भावित जोखिम कम गर्न सबै उपाय अपनाएर जुधिरहेको सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि चारवटा रणनीति बनाएको थियो । रणनीतिअनुसार नै व्यवस्थित किसिमले काम गरिएकाले कोरोना संक्रमणको दर बढ्न नपाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो।
सचिव कोइरालाका अनुसार संक्रमण दर थेग्नै नसक्ने गरी फैलिए घरमै गएर उपचार गर्ने व्यवस्था मिलाउनेसम्मको तयारी गरिएकाले आत्तिनुपर्ने अवस्था छैन । ‘हालसम्म नेपालमा ५९ जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन् । कोइरालाका अनुसार कोभिड–१९ का जटिल बिरामीलाई अस्पताल र सामान्यलाई घरमै उपचारको व्यवस्था मिलाउने योजना बनाइएको छ ।
कोइरालाले भन्नुभयो, ‘थेग्नै नसक्ने गरी (अमेरिका, युरोपमा जस्तै) संक्रमण फैलिएको अवस्थामा चौथो रणनीतिक योजना कार्यान्वयनमा ल्याइनेछ, जुन अन्तिम विकल्प हो।’ पहिलो र दोस्रो रणनीतिलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याएको मन्त्रालयले हाल तेस्रो रणनीतिअनुसार काम गरिरहेको छ। जसअन्तर्गत स्थानीय रूपमा संक्रमण फैलिन नदिने योजना बनाइएको र सफल भएको मन्त्रालयको निष्कर्ष छ। कैलालीमा एक महिलामा देखिएको स्थानीय संक्रमण नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजको राजधानी दैनिकले खबर छापेको छ।