निर्मला पन्तको बलात्कारपछि हत्या घटना : तीन वर्ष बित्यो, उपलब्धी शून्य

  • Published Date : 2021-07-25
  • nepaltale.com

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ। तर, अहिलेसम्म घटनामा संलग्नको पहिचान हुन सकेको छैन।

कञ्चनपुरको उल्टाखामकी निर्मलाको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो। साथीको घरबाट फर्किँदै गरेकी उनी बलात्कारमा परेकी थिइन्।



यो तीन वर्षमा अनुसन्धानका लागि केन्द्रबाट प्रहरीका सात वटा टोली खटिए। र, कञ्चनपुरका पाँच प्रहरी प्रमुख फेरिए। तीन जना प्रहरी महानिरीक्षक फेरिए। तर, उपलब्धी भने शून्य रहेको छ। अनुसन्धान जहाँको त्यहीँ छ।

यो घटनामा प्रहरी अनुसन्धानमाथि नै पटक पटक प्रश्न उठ्दै आएको छ। घटनास्थलमा भएको लापरवाहीदेखि डीएनए परीक्षणमा त्रुटी हुँदा आलोचना भयो। तर, प्रहरीले फेरि पनि डीएनएकै सहरा लिने तयारी गरेको छ।

सुदूपश्चिम प्रहरी प्रमुख, डीआईजी उत्तमराज सुवेदीले घटनाको अनुसन्धान निकै साँघुरिदै बताएका छन। स्थानीयको सहयोग भयो भने घटना सुल्झिन धेरै समय नलाग्ने उनको दाबी छ।

घटनाको अनुसन्धानका लागि सीआईबीको एउटा टोली अहिले पनि कञ्चनपुरमै खटिएको छ। यो बीचमा विभिन्न छानबिन समितिले काम गरेपनि घटनाको निचोडमा पुग्न सकिएको छैन। यसअघि पक्राउ परेका व्यक्तिहरु प्रमाण नपुगेको भन्दै छाडिएका छन्।

तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालको पालामा भएको घटनामा उनले आफ्नै पालामा अपराधी पक्राउ पर्ने बताएका थिए। तर, त्यसपछि ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्री प्रहरी प्रमुख बनिसकेका छन्। यद्यपि, यसमा कुनै उपलब्धी हात पर्न सकेको छैन।