काठमाडौं । काठमाडौं उपत्यकामा लागू निषेधाज्ञाको अवधि आज (साउन १०) गते मध्यरातिबाट सकिँदै छ । अब निषेधाज्ञा थप हुन्छ कि हुँदैन ? आम जिज्ञासा छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अहिलेसम्म यस विषयमा कुनै छलफल हुन नपाएको बताएका छन् । यसबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्र लामो दूरीका सवारीसाधन आवतजावत पनि खुला गरिसकेको छ ।
अब निषेधाज्ञा नथप्ने हो कि ?
ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘थपिन्छ नै होला ।’ अहिलेसम्म यस बारे उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने समयसमेत तय भइनसकेको उनले बताए । आज राति १२ बजेबाट निषेधाज्ञा अवधि सकिने भएकाले आज छलफल गरिने उनको अनुमान छ ।
यसअघि निषेधाज्ञाको अवधि सकिनु एक दिनअगावै थप गर्ने विषयमा निर्णय गर्ने गरिएको थियो । कोरोना नियन्त्रणका लागि भनेर गत वैशाख १६ देखि सुरु निषेधाज्ञाको अवधि थप्दै थप्दै आज साउन १० गतेसम्म पुर्याइएको हो । निषेधाज्ञा थप्ने क्रममा क्रमशः खुुकुलो पनि बनाउँदै लगिएको छ ।