मन्त्री छान्न आज बस्ने भनिएको माओवादी केन्द्रको बैठक किन भयो एकाएक स्थगित ?

  • प्रकाशित मिति : २०७८ श्रावण १८, सोमबार
  • nepaltale.com

काठमाडौं। सत्ता गठबन्धन मध्येको एक नेकपा माओवादी केन्द्रको आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘गम्भीर छलफल’ गर्नुपर्ने भन्दै आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी पठाएका छन् ।

एक स्थायी समिति सदस्यका अनुसार, पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्री देउवासँग गम्भीर छलफल गर्नुपर्ने देखिएको भन्दै आज तय गरिएको बैठक स्थगित गरिएको हो ।

सामान्यतः कुन कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा छलफल भएपनि कुन कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन । पछिल्लो समय कांग्रेसले महत्वपूर्ण मन्त्रालयहरुमा आफ्नो दावी प्रस्तुत गरेपछि आन्तरिक रुपमा सत्तारुढ दलहरुबीच खटपट सुरु भइसकेको छ ।

अब आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र ढुक्कले सरकार सञ्चालन गरेर जाने मनस्थितिमा पुगेका देउवाले सत्तारुढ दलहरुलाई नै पेल्न थालेको एक नेताको भनाइ छ ।

माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो । आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी भए पनि देउवाले अस्वीकार गरेका थिए । त्यसपछि माओवादीमा देउवाले खेल्न खोजेको माओवादी नेताहरुको बुझाइ छ ।