ओली र नेपालबीच भेटवार्ता हुने, यस्तो छ तयारी

  • Published Date : 2021-08-03
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि लचिलो हुने निर्णय गरेको छ । आज आफूपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले संयमित भएर बढ्ने निर्णय गरेको नेता रघुजी पन्तले पत्रकारहरुलाई बताए ।

पन्तले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छिट्टै भेटवार्ता हुने खुलासा गरे । तर, उनले त्यसको मितिबारे केही खुलाएनन् । दुवै नेताले एकताका लागि ठोस कुराकानी गर्ने बताए । उनले भने, ‘उहाँहरुबीच छिट्टै भेटवार्ता हुने सुनेको छु ।’



पन्तका अनुसार पार्टी एकताका लागि दुवै पक्षका नेताहरु सामेल हुन नहुनेबारे छलफल भएको बताए । उनले भने, ‘पार्टी एकतालाई कमजोर बनाउन नहुने र संयमित र जिम्मेवार भएर गम्भीरतापूर्वक बढ्नुपर्नेमा सबैको सहमति रह्यो ।’ उनले बोल्दा संयमित भएर बोल्नुपर्ने निष्कर्ष निकालिएको समेत बताए ।

अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमा कुनै स्थान नभएको बताइरहँदा एकताका लागि विशेष पहल भइरहेको खुलेको हो । नेपाल पक्ष एकताका लागि संयमता अपनाउने पक्षमा रहेपनि ओलीले पार्टीका विभागहरु गठन गरेका छन् ।

‘सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा शब्द चयनमा मर्यादा र शिष्टतामा ध्यान दिनुपर्ने विषयमा छलफल भयो,’ नेता पन्तले भने, ‘पार्टी एकता टुंगोमा पुर्‍याउन दुवै पक्ष संयमित, जिम्मेवार, संवेदनशील भएर गम्भीर हुने कुरा भएको छ।’

पार्टी एकताका लागि यसअघि गठन भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुले सोमबारको बैठकमा एकताका लागि हालसम्मका प्रयास र प्राप्त ‘उपलब्धि’का बारेमा ‘रिपोर्टिङ’ गरेका थिए।

‘दुवै नेताको निर्देशन र चाहना अनुरुप बढिरहेको एकता प्रक्रिया भएको हुनाले बाहिर कसले कहाँ के बोल्यो भन्ने कुरा त्यति महत्वपूर्ण हैन, दुई नेतासँग छलफल गरेर जसरी एकता प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ, त्यो महत्वपूर्ण कुरा हो,’ पन्तले भने, ‘वार्तामा भइरहेका कुराहरु महत्वपूर्ण हुन्, र वार्ता र ती कार्यदलमा हुने छलफलको सबै जानकारी पार्टी अध्यक्ष ओली र माधव नेपाललाई पनि थाहा छ। उहाँहरुको जानकारीमा उहाँहरुको छलफलबाट यी कामहरु भइरहेका छन्।’