म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ

  • प्रकाशित मिति : २०७८ श्रावण २६, मंगलवार
  • nepaltale.com

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताए ।

‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ उनले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताए ।

उनले विगतमा आफूले जस्केलाबाट नभई मूलढोकाबाट सरकारमा आउने स्मरण गरेको भन्दै असाधारण जनमतका साथ फेरि पनि सत्तामा आउने जिकिर गरे । उनले यसअघि आफू विभिन्न राजनीतिक दलका कुण्ठा, जलन र ईर्ष्याबाट प्रधानमन्त्री बनेको नभई जनमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएको पनि बताए । उनले आफू परमादेशबाट नभइ जनादेशबाट प्रधानमन्त्री बनेको पनि बताए ।

त्यस्तै अध्यक्ष ओलीले सत्ता गठबन्धनका नेताहरु हौसिएको बताएका छन् ।उनले दसैँ आएर केटाकेटी नाचेजस्तो गरिरहेको भन्दै कटाक्ष गरे ।

“असमान्य ढंगले सरकार परिवर्तन भएकाले होला । सत्तापक्ष गठबन्धनका मित्रहरु असाध्यै हौसिनुभएको छ । दसैं आएजसरी केटाकेटीलाई आँगनमा नाचेको जस्तो नाच्दै ठिक हुनुहुन्छ,” उनले भने ।

उनले सरकारले एक महिनामा केही काम नगरेकोले बधाई भन्दै कटाक्ष पनि गरे ।

उनले भने,‘उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको स्वच्छ र पारदर्शी तरिकाले प्रतिस्पर्धात्मक विधिबाट स्थान दिएको थिएँ। नातावाद र कृपावादको छायासम्म पर्न नदिने मेरा नीति रहे।’

आफ्ना सही निर्णय सत्तामा रहेकै कतिपयलाई मन नपरेको उनको तर्क थियो। आफूले लिएको नीतिले सत्तामा रहेकै कतिपयलाई धक्का पुगेको उनले बताए। गलत कुराको संरक्षण गर्ने नीति नभएकै कारणले आफ्नो निर्णयले ‘केही साथीहरुलाई तुषारापात’ भएको ओलीको टिप्पणी थियो।