काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले स्वास्थ्य क्षेत्रमा भएको भ्रष्ट्राचार छानविन गर्ने बताएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएका छन्। उनले छानविन गर्ने नै भए माओवादी लडाकु शिविरको भ्रष्टाचार, लुट र सम्पत्ति कब्जाको छानविन गर्न सरकारलाई चुनौती समेत दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कमिटीमा बौल्दै उनले आफ्नो पालामा भएका स्वास्थ्य सामाग्री खरिद छानबिन गरी दोषी उपर कारबाही गर्ने सरकारको निर्णयप्रति आक्रोश पोख्दै चुनौती दिएका हुन् ।
भ्रष्टाचारीलाई कारबाही गर्ने रे ? माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार विगतमा भएका लुट, निजी सम्पत्ति कब्जाको पनि छानविन हुन्छ ? ओलीले प्रश्न गरे । उनले झुटो मुद्दा लगाएर फसाउने षड्यन्त्र भइरहेको भन्दै आक्रोश पोखे ।
आफ्नो पालामा वाइड बडी खरिद, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्डको छानविन गरी कारबाही बढाइएको बताए । काण्डमा संलग्नहरु अहिले गठबन्धनमा रहेको भन्दै कारबाही गर्न चुनौती दिए ।
ओलीले माधव नेपाल प्रचण्डसँग मिलेर पार्टी ध्वस्त पार्न लागेको आरोप लगाए । प्रचण्ड ध्वंसात्मक गतिविधिमा संलग्न हुँदै आएको भन्दै माधव नेपाल उनको पछि लागेको टिप्पणी गरे ।
संशोधनसहित अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित हुनुपर्नेमा जोड दिए । उनले एमसीसी पारितका लागि संसदमा ल्याउन चुनौती समेत दिए ।