असोज ९ गतेबाट नेपाल भारत सीमा बन्द हुने

  • Published Date : २०७८ भाद्र २८, सोमबार
  • nepaltale.com

काठमाडौं। भारतको बिहारमा हुन लागेको ग्रामपञ्चायतको निर्वाचनलाई मध्यनजर गर्दै असोज ९ गतेबाट नेपाल भारत सीमा बन्द हुने भएको छ।

बिहारको मधुवनी जिल्लासँग जोडिएको सबै सीमानाकामा सुरक्षालाई ध्यानमा राख्दै चुनाव भन्दा ४८ घण्टा अघिदेखि धनुषा, महोत्तरी, सिरहा र सप्तरीको सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए।



सोमबार जनकपुरधामस्थित नेपाल र भारतका सुरक्षाकर्मीहरुको बसेको संयुक्त बैठकमा असोज १३ (२९ सेप्टेम्बर) मा हुने ग्रामपञ्चायतको चुनावलाई व्यवस्थित तथा सुरक्षित सम्पन्न गर्ने उद्देश्यले बोर्डर सिल गर्ने निर्णय भएको हो। ग्रामपञ्चायतको लागि ११ चरणमा निर्वाचन हुँदैछ। नेपाली पक्षले निर्वाचनमा नेपालबाट पूर्ण सहयोग हुने आश्वासन दिएका छन्।

साथै उक्त बैठकमा पछिल्लो समय लागुऔषधको ओसारपसार बढेको तथा नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर बस्ने गरेकोले त्यसतर्फ भारतीय सुरक्षाकर्मीलाई ध्यान दिन नेपालले ध्यानाकर्षण गराएको छ।

बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा भारततर्फबाट बिहारको दरभंगाका डिभिजनल कमीस्नर डा. मनिष कुमार, मधुवनी जिल्लाका डिएम अमित कुमार, एसपी सत्यप्रकाश, एस.एस.वि.का प्रमुखसहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो।