कांग्रेसले प्रकाशित गर्यो यी ७ जिल्लाका क्रियाशील सदस्यको नामावली

  • Published Date : २०७८ भाद्र ३१, बिहीबार
  • nepaltale.com

काठमाडौं । नेपाली कांग्रेसले थप ७ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । मंगलबार केन्द्रीय निर्वाचन समितिले १० जिल्लाको सदस्यता टुंग्याएको भएपनि बुधबार सात जिल्लाको मात्रै नामावली सार्वजनिक गरेको हो ।

समितिका सचिव जगन्नाथ श्रेष्ठले सिन्धुपाल्चोक, काभ्रे, बर्दिया, कपिलवस्तु, बाजुरा, मोरङ र काठमाडौंको सदस्यता प्रकाशित गरिएको जानकारी दिए ।



‘अहिले सात जिल्लाको सार्वजनिक गरेका छौ । अन्यको केही प्राविधिक समस्या छ, पछि क्रमशः सार्वजनिक हुन्छ,’ उनले भने ।

कांग्रेसले मंगलबारै नामावली सार्वजनिक गर्न भन्दै निर्वाचन समितिलाई अन्तिम नामावली दिएको थियो । तर, समितिले सबै एकैपटक गर्ने भन्दै सार्वजनिक गर्न मानेको थिएन ।

यसैबिच कांग्रेसले थप १० जिल्लाको क्रियाशील सदस्यताको अन्तिम नामावली तयार गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति र कृष्णप्रसाद सिटौल नेतृत्वको कार्यदलले जुटाएको सहमतिबमोजिम कांग्रेसले विवाद भएका जिल्लाको क्रियाशील सदस्यको नामावली तयार गरेको हो ।

ती जिल्लाको नामावली नेताहरुले केन्द्रीय निर्वाचन समितिलाई मंगलबारै हस्तान्तरण गरिसकेका छन् । तर, समितिले बुधबार साँझसम्म पनि प्रकाशित गरेको छैन ।

समितिले अहिल्यै ती जिल्लाको नामावली प्रकाशित गर्न मानेको छैन । केन्द्रीय सदस्य प्रदीप पौडेलले मंगलबार १० जिल्लाको क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरिएको बताए ।

‘अब बिहीबारसम्म सबै काम सकिन्छ । सहमति भइसकेको छ । त्यसैको कार्यान्वयन गर्नुपर्ने कुरा हो,’ नेता पौडेलले भने, ‘हामी काम गरिरहेकै छौं । अहिले भर्खरै धनुषा–४ को सक्यौं ।’

उनले बिहीबारसम्म पनि काम नसकिए ५ असोजको वडा अधिवेशन नै प्रभावित हुन सक्ने बताए । ‘अब पनि टुंगो नलगाए वडा अधिवेशन नै प्रभावित हुनसक्छ । त्यसैले छिटो सक्ने गरी काम भइसकेको छ,’ उनी भन्छन्, ‘नेताहरुबीच सहमति भइसकेकै छ । तर, त्यसको कार्यान्वयनमा समस्या देखिएको हो ।’

निर्वाचन समितिका सदस्य एगराज पोखरेलले १० जिल्लाको विवाद समाधान भएर क्रियाशील सदस्यको नामावली समितिलाई प्राप्त भइसकेको बताए ।

‘हामीलाई प्राप्त भइसकेको छ । तर, हामीले अहिल्यै सार्वजनिक नगर्ने भनेका हौं । अब सबै जिल्लाको एकैपटक प्रकाशित गरेमात्रै ५ असोजमा अधिवेशन गराउन सकिन्छ भन्ने हाम्रो कुरा हो,’ पोखरेलले भने ।

कांग्रेसले यसअघि कम विवाद भएका ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको थियो । ती जिल्लामा वडा तहको अधिवेशनसमेत भइसकेको छ । वडा अधिवेशन हुन बाँकी रहेका जिल्लामा ५ असोजमा वडा अधिवेशन गर्ने कार्यतालिका छ भने ९ असोजमा ७५३ स्थानीय तहको अधिवेशन हुनेछ ।