मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवाका ज्योतिषीले जुराए साइत, कहिले हुन्छ विस्तार ?

  • Published Date : २०७८ आश्विन २१, बिहीबार
  • nepaltale.com

काठमाडौं। तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलि नै नयाँ मन्त्रीमण्डल विस्तार गराउने तयारी गरेका छन्।

यसका लागि सत्ता गठबन्धनका दलहरुबीच मंगलबार सहमति भइसकेको छ। माओवादी केन्द्रले आफ्नो तर्फबाट मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ। अन्य दलले पनि तयारी गरिरहेका छन्।



यस्तै गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा प्रधानमन्त्री निवास बालुवाटार सर्दा बिहान ९:५७ को साइत अनुसार सरेका थिए।

त्यस्तै, २०७४ सालमा जेठ २३ गते प्रधानमन्त्री निर्वाचित हुँदा पनि असार ५ गते बिहान ५:२२ को साइतमा सरेका थिए। त्यतिबेला उनले जेठ २४ गते दिउँसो १:५७ को साइत जुराएर शपथ खाएका थिए।

नयाँ मन्त्रीहरुको शपथ आजै गराउने तयारी गरिएको छ। कुनै उल्लेखनीय काम सुरु गर्दा ज्योतिषीको सल्लाह लिने स्वभाव भएका प्रधानमन्त्री देउवाले नयाँ मन्त्रीहरुको शपथको लागि समेत सल्लाह लिएको बताइएको छ।

स्रोतका अनुसार आज र भोलिमा नयाँ मन्त्रीहरुको शपथका लागि देउवालाई तीन साइत प्राप्त भएको छ। मन्त्रीहरुको शपथ राष्ट्रपतिले र राज्यमन्त्रीको शपथ प्रधानमन्त्रीले खुवाउने प्रावधान छ।

‘बिहीबार (आज) दिउँसो ३ बजेर १० मिनेटमा अथवा बेलुका ८ बजेर २५ मिनेटमा अथवा भोलि दिउँसो १ बजे शपथ खुवाउँदा राम्रो हुने साइत प्राप्त भएको छ। नयाँ मन्त्रीहरुको शपथ त्यही अनुसार गर्ने तयारी रहेको छ।’