मुलुकभर थप ७६० जनामा कोरोना पुष्टि, ८९९ डिस्चार्ज

  • Published Date : २०७८ आश्विन २३, शनिबार
  • nepaltale.com

काठमाडौं। मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार १६८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ३६ जना र ५ हजार ८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९४ हजार ५९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८९९ जना कोरोनामुक्त भए, ११ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ९९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ३१ जनाको परीक्षण हुँदा हालसम्म कुल ४८ लाख ९१ हजार ४९६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।