कोरोना जितेर अस्पतालबाट फिर्ता भए धनगढीका युवक

  • प्रकाशित मिति : २०७७ बैशाख ७, आईतवार
  • nepaltale.com

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित २१ वर्षीय राज विक उपचारपछि आज घर फर्किनुभएको छ । दोस्रो र तेस्रोपटक गरिएको कोरोना नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय विकलाई आज डिस्चार्ज गरिएको सो अस्पतालका प्रवक्ता डा जगदीश जोशीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलगायतका चिकित्सकहरूले उहाँलाई बिदाइ गर्नुभयो । भारतबाट आउनुभएका विकको नमूना पहिलो परीक्षणबाट चैत २२ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो । उपचाररत अन्य चारजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।