काठमाडौं। प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन्। पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सचिव एवं प्रदेश सभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गरेको उनका स्वकीय सचिवले बताएका छन्।
यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि आज प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
मुख्यमन्त्री राईको शपथ दिउँसो ३ बजे हुने भएको छ। राईले चार पार्टीबाट एक/एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरेका छन्।
जसमा कांग्रेसबाट एक, माओवादी केन्द्रबाट एक, एकीकृत समाजवादीबाट एक र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री बन्ने छन्।
कुन दलबाट को हुदैछन् मन्त्री ?
प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित भएपछि सांसदहरु मन्त्री बन्न शक्तिकेन्द्र धाइरहेका छन् । कांग्रेसबाट राजीव कोइराला, हिमाल कार्की, केदार कार्की, शान्ता पौडेल, शिवनारायण गनगाईं, सूयर्मा राज राई‚ बिन्दिया कार्की, ओमप्रकाश सरावगी, प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा लगायतका सांसद मन्त्री बन्ने दौडधुपमा रहेका छन् ।
सुरुमा कांग्रेसले मुख्यमन्त्री दावी गर्दै आएको थियो । तर मुख्यमन्त्री राजेन्द्र राई बन्ने भएपछि कांग्रेसले प्रमुख मन्त्रालय आफ्नो भागमा पार्न खोजेको छ । साथै पार्टी भित्रको आन्तरिक समीकरणलाई समेत मिलाउँनुपर्ने हुन्छ । कांग्रेसभित्रको गुट, उपगुटका कारण एकले अर्कोलाई रोक्ने प्रयाससमेत जारी छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, कृष्ण सिटौला समुहबीच प्रदेश १ मा मन्त्री को बन्ने भन्ने ठुलो अन्तरविरोध छ । देउवा समूहका हिमाल कार्की र कृष्णप्रसाद सिटौला समूहका सरावगी र प्रतापप्रकाश हाङ्गाम तथा कोइराला समूहका सुयर्मा राजको सम्भावना बलियो रहेको कांग्रेसका एक नेताले बताए । कांग्रेस भित्रको विभिन्न समूहका कारण मन्त्रीको टुंगो लगाउँन समस्या भएको एक सांसदले बताए ।
माओवादी केन्द्रबाट इन्द्र आङबो, रामकुमार राई, झलकसिंह मगर, सीता थेवे, सौभाग्य राई, उमिता विश्वकर्मा लगायतका मन्त्रीको आकांक्षी देखिएका छन् । माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको बैठकले मन्त्रीको बारेमा टुंगो लगाउँने अधिकार प्रदेश स्तरका शीर्ष नेतालाई नै जिम्मेवारी दिएको छ ।
सरकारको नेतृत्व गर्ने एकीकृत समाजवादीबाट गणेश तामाङ, खिनु लङवा लिम्बु, सरिता थापा, सुनिता चौधरी, उपेन्द्र घिमिरे, सावित्राकुमारी रेग्मी लगायत मन्त्रीका लागि लबिङमा रहेका छन् ।
यस्तै जसपाबाट जयराम यादव वा रामचन्द्र लिम्बू मध्ये एकजना मन्त्री हुने सम्भावना रहेको छ । महिलालाई पठाउँनुपर्ने अवस्था आएको खण्डमा राधा थापा मन्त्री हुनेछिन् । यसैगरी प्रदेश १ मा रहेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बिष्णु तुम्बाहाम्फे राज्यमन्त्री बन्ने चर्चा रहेको छ ।