काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि चोर हुन् भन्ने निराधार धारणा त्याग्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरेका छन्।
लिङ्देनलाई व्यंग्य गर्दै ओलीले भने, ‘कोही जन्मदैं शासक भएर जन्मिन्छ्न भन्ने निराधार सिद्धान्त बोकेर हिँड्ने, संयुक्त राष्ट्रसंघका सिद्धान्त विपरीतका धारणा बोकेर हिंड्ने ? नागरिकबाट उठेर आएको नेता चोर हुन्छ भन्ने सिद्धान्त राख्नेहरू पनि छन्। हुन त केही साथीहरूलाई भर्खरै अध्यक्ष छानिएको राप ताप होला । भर्खरको बाछो हिंड्न जान्दैन, अलि बढी कुद्छ ।’
ओलीले थपे, “नयाँ–नयाँ सभापति भएको अलि बढी राप ताप होला। अलि समयमा ठिक ठाउँमा आउला भन्ने मलाई लाग्छ।”
यसअघि महाधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले नेताहरूप्रति जनताको विश्वास गुमेको धारणा राखेका थिए। ‘कोही नेता कुनै कार्यक्रममा गयो भने चोर आउँदैछन् भन्छन्, नेता आयो भन्दैनन्,” लिङ्देनले भनेका थिए। उनले राष्ट्रप्रमुख राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने व्यवस्था ल्याउनुपर्ने बताएका थिए।