ओली र माधवसँग चिनियाँ नेताहरुको महत्वपूर्ण छलफल, गठबन्धनमा खैलाबैला

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • nepaltale.com

काठमाडौं। नेपालमा एमसीसी परियोजना संसदबाट पास गर्नका लागि संसदमा टेबल भएसँगै यसबारे चीनलेसमेत चासो देखाएको छ । एमसिसी अनुमोदन प्रकरणले नेपालको आन्तरिक राजनीति तरंगित भइरहेका बेला चिनियाँ नेताहरु पनि सक्रिय भएका हुन् ।

एमसीसी परियोजना नेपालमा कुनै पनि हालतमा लागु गर्न नहुँने पक्षमा खुलमखुला अभिव्यक्ति दिँदै आएका चीनका नेताहरु नेपालका कम्युनिष्ट पार्टीका नेताहरुसँग वारम्बार छलफलमा सक्रिय छन् ।

चिनियाँ नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग यसबारे छलफल गरेका छन् ।

एमसिसी अनुमोदन गर्नु हुँदैन भनेर खुलमखुला अभिव्यक्ति दिइरहेको चीनले दुई पूर्वप्रधानमन्त्रीहरुसँग बुधबार एकपछि अर्को गरी कुराकानी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओलीसँग चिनियाँ पार्टीका विदेश विभाग प्रमुख सङताओले ओली बुधबार बिहान छलफल गरेका हुन् । उनीहरुबीच केहीबेर एमसीसीबारे छलफल भएको एमाले स्रोतले जनाएको छ ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालनिकट स्रोतले पनि विदेश विभाग उपप्रमुख चेन झाओले नेपालसँग संवाद गरेको पुष्टि गर्यो।ृकमृ द्ध ,

दुवै नेताहरुसँगको कुराकानीमा चिनियाँ नेताहरुले एमसिसी अनुमोदन नगर्न र कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्न सुझाव दिएका छन्।

पत्रकार सम्मेलनको क्रममा ‘एमसिसी उपहार हो कि पान्डोराज बक्स ?’ भनेर बुधबार नै चिनियाँ विदेश विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले टिप्पणी गरेकी थिइन्।

अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको आरोप लगाउँदै प्रवक्ता हुवाले चीन नेपालको पक्षमा रहेको बताएकी थिइन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि चिनियाँ नेताहरुले बारम्बार कुराकानी गर्दै आएका छन्।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसरी पनि एमसीसी परियोजना पास गराउनुपर्ने पक्षमा सक्रिय भएका छन् । उनले सत्ता गठबनधन भत्काएर एमाले अध्यक्ष ओलीलाई मनाएर भए पनि एमसीसी परियोजना पास गर्नका लागि सक्रियता बढाएका छन् ।

संसदमा एमसीसी टेबल भएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने तयारी गरिसकेका छन् । जनता समाजवादी पार्टी जसपामा भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसी पास गर्ने पक्षमा रहेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव यसलाई फेल गराउनुपर्ने पक्षमा सक्रिय भएका छन् ।

यहि मुद्धाका कारण जसपासमेत फुटको संघारमा पुगेको छ । एमसीसी संसदमा टेबल भएसँगै सडकमा आन्दोलन चर्कदै गइरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि झनै आन्दोलन चर्कनै निश्चित भएको छ ।