काँग्रेस र एमालेबीचको बैठक सकियो, के-के भयो कुराकानी ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन १२, बिहीबार
  • nepaltale.com

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल सकिएको छ । बैठकमा नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन् । नेपाली काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायत सहभागी छन् ।

संसद वैठक स्थगित भएलगत्तै आज ओलीले देउवालाई भेटेका थिए । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डसँग पनि उनको वान टु वान वार्ता भएको थियो ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राखेका छन् । बिहीबार दिउँसो संघीय संसद भवनमा ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका हुन् ।

एमसीसी राष्ट्रसँग जोडिएको विषय भएको र गठबन्धन फुट्ने, कसको सरकार बन्ने कुरा गौण भएको ओलीसँगको छलफलपछि काँग्रेस महामन्त्री गगन थापाले बताए ।

एमसीसी पास गर्न आफूलाई सहयोग गर्न ओलीसँग आग्रह गर्दै देउवाले अरु प्रस्तावमा आवश्यक छलफल गरेर अघि बढ्न आफू तयार रहेको बताएका कांग्रेस महामन्त्री थापाको भनाइ छ ।

छलफलका क्रममा ओलीसँग एमसीसी पारितका लागि सरकारको साथमा उभिए आफूले चाल्नुपर्ने कदमबारे निर्णय लिन तयार रहेको देउवाले बताएका छन् । देउवाले अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको छलफलमा बताएका थिए। ​

एमसीसी संसदबाट पारित गराउने विषय नेपालको अन्तराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा भएको पनि उनले वार्तामा जोड दिए थिए।

त्यसक्रममा ओलीले आफूहरुले उठाउँदै आएको माधव नेपालसहितका १४ सांसदमाथिको कारबाहीबारे प्रधानमन्त्रीले ठोस निर्णय लिनुपर्ने पनि बताएका छन्। ओलीले आफूहरु अन्यायमा परेको भन्दै कि त १४ सांसद हटाउन कि सभामुखलाई बिदा गर्न कांग्रेस तयार भएमा एमसीसीबारे निर्णय लिन तयार भएको उल्लेख गरेका थिए।

जस्तोसुकै त्याग गरेर भए पनि संसदबाट एमसीसी पास गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सक्रिय भएका छन् । उनले आवश्यक परे माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धन टुटाएर एमालेसँग सहकार्य अघि बढाउनेसम्मको विकल्पमा छलफल अघि बढाएका छन् ।