काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ।
भेटमा विप्लवले संसदबाट पारित भएको एमसीसीविरुद्ध आन्दोलनका साथै राजनीति सहकार्य गर्न प्रस्ताव गरेको जनाइएको छ। विप्लवले केही दिन यता एमसीसीविरुद्धमा रहेका विभिन्न दलका नेतासँगको भेटघाटलाई तिव्रता दिएका छन् र यस्तो प्रस्ताव गरिरहेका छन्।
नेकपा एमालेका नेता रावल एमसीसी पारित गर्न नहुने पक्षमा थिए। एमालेले नाराबाजी गरेको प्रतिनिधि सभा बैठकमा आइतबार उनले एमसीसी विरुद्ध अभिव्यक्ति दिएका थिए।
विप्लवले यसअघि बुधबार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए।
माओवादी नेता श्रेष्ठले पार्टीले एमसीसीको पक्ष लिएको भन्दै बिरोधमा छन् भने एकीकृत समाजवादीका नेता खनालले एमसीसी पारित गर्नका लागि गत आइतबार बसेको दोस्रो बैठक बहिष्कार गरेका थिए ।
यस्तै अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् । खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
सभालाई पूर्वप्रधानमन्त्री एवम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्ने भएका हुन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्ता रहेका छन् ।