फेसबुकमा भिडियो हेर्दा पैसा तिर्नुपर्ने?

  • प्रकाशित मिति : २०७७ बैशाख २२, सोमबार
  • nepaltale.com

फेसबुक अहिले आम मानिसको दैनिकीजस्तै बनेको छ। एक दिन फेसबुक हेर्न छुटे मानिसलाई के के न छुटेजस्तो, के भुलेजस्तो हुने स्थिति छ। अर्को शब्दमा भन्दा फेसबुक हाम्रो दैनिकीसँग अभिन्न रुपमा गाँसिएको छ।

फेसबुकमा फोटो, भिडियोहरु पोष्ट गर्नु, स्टाटस लेख्नु, कमेन्ट, लाइक शेयर गर्नु आम मानिसको दिनचर्या नै बनेको छ। त्यस्तै फेसबुकमा भिडियो पोष्ट गर्ने र फेसबुक लाइभ गर्ने पनि निकै मानिस रहेका छन्। तर, फेसबुकले नयाँ नियम ल्याउँदैछ, जसले फेसबुकमा लाइभ भिडियो होस् वा रेकर्ड परी पोष्ट गरिएको भिडियो होस्, तिनलाई हेर्न पैसा तिर्नुपर्नेछ।

फेसबुकले चाँडै लाइभ तथा अन्य भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ।

समाचार अनुसार फेसबुकमा अन्य मानिसहरुका लाइभ भिडियो हेर्नका लागि प्रयोगकर्ताहरुले शुल्क तिर्नुपर्ने नियम कम्पनीले छिटै नै लागू गर्ने तयारी गरिरहेको छ।

कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनका समयमा फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिने कलाकारहरुको सहयोगका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको हो। यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत लाभ प्राप्त हुने फेसबुकले जनाएको छ।

लाइभ भिडियो हेर्न पैसा तिर्नुपर्ने नियम लागू भैसकेपछि फेसबुक लाइभमा आउने कलाकारहरुले अर्थोपार्जन गर्न सक्नेछन्।

लाइभ भिडियोमा शुल्कको व्यवस्था लागू गर्नका लागि फेसबुकले एक नयाँ फिचर थप गर्नेछ। जसअनुसार फेसबुक लाइभ गर्ने फेसबुक प्रयोगकर्ताले लाइभमा आउनुअघि नै आफ्नो लाइभ भिडियो अरुलाई निःशुल्क रुपमा देखाउने कि सशुल्क बनाउने भन्ने विकल्प रोज्न सक्नेछन्।

आफ्नो लाइभ भिडियोलाई शुल्क तिरेर मात्र अन्यले हेर्न सक्ने विकल्प लाइभकर्ताले छनोट गरेमा भिडियो हेर्नका लागि दर्शकहरुले तिरेको शुल्कको निश्चित रकम लाइभकर्तालाई फेसबुकले प्रदान गर्नेछ।

लकडाउनका कारण घरमै बस्न बाध्य कलाकारहरुले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएर आर्थिक लाभसमेत प्राप्त गर्न सकुन् भन्नका लागि फेसबुकले यस्तो व्यवस्था गर्न लागेको बताइएको छ। संगीतकार तथा गायक गायिकाहरु, कमेडियन, व्यायाम सिकाउनेहरुका साथै भाषण वा उद्घोषणका क्षेत्रमा संलग्न व्यक्तिहरु यस नियमबाट लाभान्वित हुनेछन्।

फेसबुकको यो नयाँ फिचरमार्फत् प्रयोगकर्ताले आफ्नो लाइभ भिडियोबाट आफुले आर्थिक लाभ लिने नभइ कुनै कल्याणकारी कार्यका लागि कोष संकलन गर्न सक्नेछन्। यस्ता प्रयोगकर्ताले आफ्नो लाइभ स्ट्रिममा डोनेट बटन थप गर्न सक्नेछन्।

डोनेट बटनमार्फत् संकलित शत प्रतिशत रकम नै फेसबुकले गैरनाफामूलक संस्थाहरुको खातामा जम्मा गरिदिनेछ।

फेसबुकले लाइभ भिडियो हेर्न शुल्क तिर्नुपर्ने नियम आगामी केही हप्ताबाटै लागू गर्नसक्ने बताइएको छ। यद्यपि उसले यो नयाँ फिचर सुरु हुने मितिचाहिँ तोकेको छैन।

फेसबुकले यसअघि सन् २०१८ मै अनलाइन गेमसम्बन्धी यस्तो शुल्क तिर्नुपर्ने फिचर ल्याएको थियो। भिडियो गेम खेलाडीहरुका लागि विशेष रुपमा तयार गरिएको उक्त स्ट्रिमिङ प्लाटर्फममा फेसबुक प्रयोगकर्ताले कुनै पनि भिडियो खेलाडीको स्ट्रिममा रकम दान गर्न सक्दछन्।