काठमाडौं । सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। परीक्षणको रूपमा लागू हुने गरी शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
उक्त समयदेखि बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म कार्यालय सञ्चालन गरिनेछ। मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले विदाको समय बढाएको हो।
विदेशी मुद्रा सञ्चिती घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो। त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।
पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ।
 
                 
                                 
                                         
                                         
                                         
                     
                     
                    