मतदानपछि गठबन्धन टाइटाइ फिस : ओली

  • प्रकाशित मिति : २०७९ बैशाख २४, शनिबार
  • nepaltale.com

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि पाँच दलीय गठबन्धनको फुर्ती सकिने दाबी गरेका छन् । विराटनगरमा आज आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने ‘वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् । वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुनेछ । मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।’

चुनावमा एमालेसँग एक्ला एक्लै लड्न नसक्नेले देश बनाउन नसक्ने उनको भनाई थियो । उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्यूटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरे । आफ्नो पार्टीबाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै असक्षम व्यक्ति विजयी भए कुर्सी रुने बताए । गठबन्धनतर्फ सङ्केत गर्दै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका लौरा टेकेर हिँडिरहेको टिप्पणी गरे ।

‘एमालेको टुप्पोमा बसेर १५ वर्षसम्म रस खाएका माधव नेपाल अहिले देउवाको भान्सामा बिरालो भएर पुगेका छन् । देउवाले भान्सामा पुगेको नेपाललाई आफूले देउवालाई भनेर एक÷एक कचौरा दूध दिएपछि शान्त छन्,’ उनले भने ।

गठबन्धन तोड्ने आफूले नै नचाहेको उल्लेख गर्दै ओलीले आफूले चाहेको भए पाँच वटा कचौरा खर्च गरेर काम तमाम गरिदिनसक्ने दाबी गरे । हिजोका दिनमा टाउको मोल तोक्ने र बम हान्नेहरू अहिले एक अर्काको प्रशंसामा मग्न भएको उनको भनाइ छ ।