म्याग्दी । जिल्ला डेंगुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीन जनामा डेंगु सङ्क्रमण देखिएको छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेंगु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।
एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताउनुभयाे ।
“म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेंगु सङ्क्रमित भेटिएका छन्, “उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा बस्ताकोटीले भन्नुभयाे । वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेंगु रोगको जोेखिम उच्च रहेको डा बस्ताकोटीको भनाइ छ ।