विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन जारी छ । सरकारले चैत ११ गते देखि देशमा लकडाउन लागू गरेको हो । सरकारले पछिल्लो पटक १० दिन समय थप गरी वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याएपछि काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्नेहरु बढेका छन् ।
सडक पेटीमा मानिसहरुको आवागमन फाट्टफुट देखिन्छ । सडकमा गुडने सवारी साधनहरु पनि केही बढेका छन् । तर प्रहरीले चोकचोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ । सडकमा सवारी साधनहरु बढी देखिएपछि प्रहरीले कडाई गर्दै परिचयपत्र हेरेर कारबाही गर्ने गरेको छ ।
अत्यावश्यक सेवाका सवारीसाधनहरु सञ्चालनमा कुनै रोक लगाएको छैन भने खाद्य वस्तु ढुवानीका साधनहरु पनि सञ्चालनमा रहेका छन् । सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नेहरु देखिन्छन् । भित्रि सडकमा केही पसलहरु सञ्चालनमा आएका छन् ।
उच्चस्तरीय समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने
कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार पनि बस्दैछ।
लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न समितिको बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो।
उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएकाे छ । लकडाउन लम्बिँदै गर्दा संकटपूर्ण अवस्था उत्पन्न भइरहेको अवस्थामा प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी भएर छलफल गर्ने भएका हुन्।