काठमाडौं। दाइजो आफैमा निकै पीडा दिने शब्द हो । दाइजो प्रथा नेपालमा मात्र होइन विदेशमा समेत व्याप्त रहेको पाइन्छ । नेपालमा विशेष गरी तराइमा दाइजो प्रथाकै रूपमा रहेको छ । यही दाइजोको विषयलाई उठान गरेर अहिले बजारमा एउटा गीत आएको छ ‘रेलीमै’ ।
लोक दोहोरी गीतहरू फोहोरी बने भन्ने आरोप लागिरहन्छ तर रेलिमैले गीत संगीतमार्फत सन्देशसहित परिवर्तनका लागि भूमिका पनि खेल्न सकिन्छ भन्ने सिद्धान्तलाई प्रमाणित गरेको छ । गीतको श्रव्य दृश्यमा मौसम हिमालीले आफूलाई अब्बल निर्देशकका रुपमा उभ्याएका छन् ।
रचनाकारले जुन कल्पनाले शब्द कोरेको हो त्यही भावनालाई श्रव्य दृश्यमार्फत न्याय पूर्णरूपमा संसारभर पुर्याउनु सफलता हो । दाइजोको कारण हुने भवितव्य र छोरी बेटी बिक्री गर्ने कालो सत्य देखाउन हिमालीले कहीँ सम्झौता गरेका छैनन् ।
तराईकै शैलीलाई टपक्क टिपेर बनाइएको भिडियोमा विवाहमा मोटरसाइकल दाइजो नदिँदा श्रीमती कुटेको र उनले आत्महत्या गरेको दृश्यले भावुक बनाउँछ । रेलीमै मनोरञ्जन मात्र होइन पूर्ण सन्देश बोकेको एउटा सर्ट मुभी जस्तो बनेको छ ।
वसन्त विश्वकर्मा, शान्ति श्री परियारको स्वर रहेको गीतको लय प्रकाश दूतराजको र संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् भने शब्द गायक वसन्तको नै रहेको छ । आफ्नै च्यानलबाट रिलिज गरिएको रेलीमैमा स्वयं विश्वकर्मा, उषा उप्रेती, शिव शरण न्यौपाने र मार्भिन मौसम दराईको अभिनय देख्न सकिन्छ ।