लण्डन । बेलायतमा कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा रहेका ऋषि सुनक र लिज ट्रसबीचको प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि स्थगित भएको छ ।
‘द सन’ र ‘टक टिभी’ ले आयोजना गरेको बहसका दौरान प्रस्तोता केट मेक्यान बेहोस भएको बिबिसीले जनाएको छ । दुई प्रतिस्पर्धीबीचको बहस स्थगित भएपछि टेलिभिजनले दर्शकसँग माफी मागेको छ ।
मेक्यान अहिले ठिक रहे पनि चिकित्सकको सल्लाहअनुसार केही समय आराम गर्ने टेलिभिजनको भनाइ छ । मेक्यानको स्वास्थ्य ठीक रहेको जानकारी पाउँदा आफूहरू खुसी रहेको र फेरि उनीसँगै बहसमा उपस्थित हुने सुनक र ट्रसको भनाइ छ ।
कार्यक्रममा दुई जना प्रस्तोता राख्ने भनिए पनि ‘द सन’का राजनीतिक मामिला सम्पादक कोरोना संक्रणका कारण उपस्थित हुन सकेनन् । कार्यक्रम स्थगित हुनुअघि उनीहरू कर प्रणालीमा सुधार र बढ्दो महंगी नियन्त्रणबारेका योजना सुनाइरहेका थिए ।
युक्रेनलाई सहयोग गर्ने योजनाबारे बहस हुँदै गर्दा कार्यक्रम स्थगित भएको थियो । बिबिसीसँगको बहसमा एकअर्काप्रति खरो उत्रिएका उनीहरू ‘टक टिभी’ सँगको बहसमा निकै नरम थिए । राष्ट्रिय बीमा कार्यक्रमबारे पूर्वअर्थमन्त्री सुनकको नीतिले बेलायतको अर्थतन्त्रलाई धरासयी बनाउने ट्रसले बहसमा बताएकी थिइन् ।
सुनकले भने आफ्नो योजना कोरोनाले कमजोर बनाएको अर्थतन्त्रलाई बलियो बनाउन सहयोगी हुने बताए । धेरै आर्जन गर्ने कम्पनीहरूबाट धेरै कर असुल गर्दै सर्वसाधारणलाई सहुलियत दिने आफ्नो नीति जायज रहेको सुनकको दाबी थियो ।
कन्जरभेटिभ पार्टीको नेता चुनिने व्यक्ति बेलयातको नयाँ प्रधानमन्त्री बन्ने छन् । कन्जरभेटिभका पार्टीका कार्यकर्तामाझ हालैको गरिएको सर्वेक्षणमा ट्रसको लोकप्रियता बढी देखिएको छ । कन्जरभेटिभ पार्टीको नेता सेप्टेम्बर ५ मा घोषणा हुने छ ।
भिडियो हेर्नुहोस्