हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने तीन जना पक्राउ

  • प्रकाशित मिति : २०७९ भाद्र २, बिहीबार
  • nepaltale.com

काठमाडौं। हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोली ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्येपुर ठिमी नगरपालिका-९ का सुरेश भन्ने २८ वर्षीय प्रदिप कर्मचार्य, मुगु खत्याड गाउँपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने २४ वर्षीय बिशाल कार्की र मुगु खत्याड गाउँपालिका-८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको एक पुरूषको हराएको सक्कल नागरिकताको दुरुपयोग गरी २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक ईन्टनेशनल एजुकेशन प्रालि नामको प्राईभेट कम्पनी दर्ता गरेको पाइएको छ ।

उनीहरूले सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र बैदेशिक रोजगारीमा रसिया पठाई दिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै अन्य व्यक्तिलाई ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । काठमाडौं उनीहरूमध्ये प्रदिप उक्त कम्पनीको सिइओ, विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको खुल्न आएको छ ।

पक्राउ परेकामाथि ठगी सम्बन्धि कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।