कमेडियन अपूर्वक्षितिज सिंहलाई छुटाउन अभियन्ताहरूले क्षमापत्र लेखेर प्रहरीलाई बुझाउने भएका छन्।
आठ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सिंहलाई छुटाउन अभियन्ताहरूले क्षमा गरेको भन्दै पत्र तयार पारिरहेको अभियन्ता यादवलाल कायस्थले जानकारी दिए।
‘क्षमापत्र तयार हुँदैछ। लेखिरहेका छौं। कानुनले मिल्छ भने आजै छुटाउन भनेर हामी यहीँ आएर बसेका छौं,’ उनले भने, ‘हामी तयार नै भएर आएका हौं। हाम्रोबाट सबै काम आज पूरा हुन्छ।’
सो पत्र लेखेर आज नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउन लागिएको हो।
कमेडियन अपूर्वले नेवाको परम्परा शीर्षकमा गरेको स्ट्यान्डअप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा राखेका थिए। सो भिडिओ कमेडी क्याफेको च्यानलबाट हालिएको थियो। तर अपूर्वले नेवा समुदायलाई लक्षित गरी भाषा, खाना तथा संस्कृतिमा प्रहार गरेको भन्दै अभियन्ताहरूले विरोध गरेका थिए।
विरोध भएपछि २४ घन्टा नबित्दै सो भिडिओ युट्युबबाट हटाइएको थियो। यसमा अपूर्वले माफीसमेत मागेका छन्। तर अभियन्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएपछि भदौ १२ गते उनी पक्राउ परेका हुन्।
उनलाई १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति समेत दिएको छ।
पछिल्लो समय कमेडी गरेकै आधारमा उनलाई हिरासतमा राख्न नहुने भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
अहिले धेरैले उनलाई छाड्नुपर्ने भन्दै माग गरेका छन्। यस्तै सामाजिक सञ्जालमा ह्यासट्याग ‘आईएमसरीअपूर्वक्षितिज’ भन्दै अभियान नै चलेको छ।
अभियन्ताहरूले पनि आफूहरूको योजना कसैलाई पनि यातना दिने खालको नभएको बताएका छन्।
अभियन्ता कायस्थले नेपालको कुनै पनि सभ्यतामाथि प्रहार नहोस् भन्ने हिसाबले सचेत गराउने मनसाय मात्रै भएको बताए।