लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री

  • प्रकाशित मिति : २०७९ भाद्र २०, सोमबार
  • nepaltale.com

लन्डन। ४७ वर्षीया नेतृ लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्।सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको फाइनल राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उनी विजयी भएकी हुन्।

पार्टीका झन्डै डेढ लाख सदस्यको प्रतक्ष्य मतदानमा ट्रसले ८१ हजार ३ सय २६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भारतीय मुलका नेता सुनाकले ६० हजार ३ सय ९९ मत पाए।

कन्जरभेटिभ पार्टीको नेतामा विजयी ट्रस मंगलबार बेलायती महारानीबाट देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनेछिन्।उनले दुई महिनाअघि नै राजीनामा गरेका प्रधानमन्त्री बोरिस जोन्सनलाई प्रतिस्थापन गर्नेछिन्।

बेलायतको ५६ औँ प्रधानमन्त्री ट्रस महिला प्रधानमन्त्रीमा भने मार्गरेट थ्याचर र टेरिसा मेपछिकी तेस्रो हुन्।

बोरिस जोन्सन नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छन् ट्रस। यसअघि उनी टेरिसा मे र डेभिड क्यामरनका सरकारमा पनि मन्त्रीका रुपमा काम गरिसकेकी छन्। सन् २०१० यता उनी सांसद रहंदै आएकी छन्।

को हुन् लिज ट्रस ?

बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीय ट्रसले अक्सफोर्ड विश्वविधालयबाटै स्नातक अध्ययन गरेकी छन्।

विद्यार्थी अवस्थामा लिबरल डेमोक्र्याटिक पार्टीसंग नजिक ट्रसले बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने चर्को भाषण दिएकी थिइन्। पछि उनी कन्जरभेटिभ पार्टीमा सक्रिय भइन्। दुईपटकसम्म संसदीय चुनावमा पराजित भएपछि तेस्रो पटक उनी सन् २०१० मा पहिलोपटक ब्रिटिश संसद ‘हाउस अफ कमन्स’ मा निर्वाचित भएकी थिइन्।

उनले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्र मन्त्रीको रुपमा काम गरिसकेकी छिन् । उनले युक्रेनविरुद्ध रुसी अतिक्रमणको कडा आलोचना गर्दै ब्रिटेनले युक्रेनलाई सैनिक तथा आर्थिक सहायता दिने नीति कार्यान्वयन गरिरहेकी थिइन्।

उनी बेलायत युरोपेली संघमै रहनु पर्छ भन्ने पक्षमा थिइन् तर टेरेजा मे प्रधानमन्त्री भएपछि भने उनले युरोपेली संघ छाडेर पनि बेलायतले लाभ लिन सक्ने बताएकी थिइन्।

उनको पुरा नाम मेरी एलिजाबेथ ट्रस हो। उनका श्रीमान ह्यु ओ लियरी एकजना लेखापाल हुन्। उनीहरुका दुई छोरी छन्।