राष्ट्रिय आविष्कार केन्द्रलाई कोभेन्ट्री नेपाली समाज बेलायतको सहयोग

  • प्रकाशित मिति : २०७९ भाद्र २३, बिहीबार
  • नेपाल टेल

लण्डन । नेपाली वैज्ञानिक डा. महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई कोभेन्ट्री नेपाली समाज बेलायतले आर्थिक सहयोग गरेको छ ।

महाविर पुनःको एकल प्रयासबाट सञ्चालित केन्द्रलाई समाजले सहयोग गरेको हो । उक्त अभियानलाई बेलायतको कोभेन्ट्रीमा रहेका नेपालीहरुले पनि साथ दिंदै सहयोग संकलन गरेका हुन् ।

समाजका बरिष्ठ उपाध्यक्ष सन्तोष रेग्मी र साहित्यकार भरतकुमार श्रेष्ठले समाजद्वारा संकलित २ लाख २१ हजार ४ सय ५५ रुपैंया सामाजिक अभियन्ता पुनलाई हस्तान्तरण गरिएको हो । संकलन गरिएको उक्त रकम कोभेन्ट्रीमा रहेका नेपालीहरुले महाविर पुनसँगको अन्तरकृया कार्यक्रममा सहभागी भई संकलन गरेका थिए ।

पुनले नेपालको सुचना र प्रविधिको क्षेत्रमा पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गरी पुनलाई देश विदेशबाट धेरै नेपाली संघसंस्था र व्यक्तिगततर्फबाट सहयोग आइरहेको छ ।

अहिलेसम्म केन्द्रलाई विभिन्न क्षेत्रबाट ६ करोड भन्दा बढि आर्थिक सहयोग संकलन भइसकेको अभियान्ता पुनले बताए ।

केन्द्र स्थापनाका लागि पटक पटक सरकारसंग आग्रह र केन्द्रको उदेश्य तथा योजनाबारे जानकारी दिदा समेत कुनै सहयोग नपाइएपछि सामजिक अभियान्ता पुन केन्द्र स्थापनामा एक्लै जुटेका छन् ।

पुनले सन २०१२ मा सूचना तथा प्रविधिमार्फत देशमा सम्भावनाहरुको खोज र स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका थिए ।