बेलायती महारानी एलिजाबेथ चिकित्सकको निगरानीमा

स्कटल्याण्डमा जमघट हुँदै राजपरिवार सदस्यहरु

  • प्रकाशित मिति : २०७९ भाद्र २३, बिहीबार
  • nepaltale.com

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितियलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनलाई स्कटल्यान्डस्थित उनकै निवासस्थानमा चिकित्सकको निगरानीमा राखिएको हो ।

एकदिन अघि मात्र ९६ वर्षिया एलिजाबाथले प्रिभी परिषद्को बैठकमा भाग लिने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेकी थिइन् । डाक्टरहरूले आराम लिन सल्लाह दिएकाले उनले सो भर्चुअल बैठक स्थगित गरेकी हुन् ।

बिहीबार बेलायतको बकिंघम प्यालेसले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “आज बिहान गरिएको थप मूल्यांकनपछि महारानीका डाक्टरहरूले उनको स्वास्थ्यप्रति चिन्ता प्रकट गरेकाले उनलाई अहिले चिकित्सकीय निगरानीमा राखिएको छ । उनी अहिले आरामदायी अवस्थामा छिन् ।”

युवराज चार्ल्स र क्यामिल्ला महारानीको साथमा छन् । त्यसैगरी राजकुमार विलियम र उनकी पत्नी केट मिडिलटन स्कटिस इस्टेटमा आउने क्रममा छन् ।

बेलायती प्रधानमन्त्री लिज ट्रुसले ट्विटरमा लेखेकी छन्, “बकिंगघम प्यालेसले आज सार्वजनिक गरेको खबरबाट सम्पूर्ण मुलुकलाई गहिरो चिन्ता लागेको छ । अहिले मेरो र सम्पूर्ण बेलायती जनताको सोच महारानी एलिजाबेथ र उनको परिवारप्रति केन्द्रित रहेको छ ।”

मंगलबार मात्रै एलिजाब‍ेथको ७० वर्ष लामो शासनकालमा १५औँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्न ट्रुसले उनलाई भेटेकी थिइन् ।