नेपाल सरकारले लिपुलेकमा भारतले सडक बनाएकोमा कडा आपत्ति जनाएको छ।
शनिवार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले द्विपक्षीय सहमती र दुई देशका प्रधानमन्त्री तहमा भएको समझदारीको उल्लंघन भएको जनाएको छ।
मन्त्रालयले सन् १८१६ सुगौली सन्धिका आधारमा महाकाली नदीको पूर्वी भागमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र सबै नेपाली भूभाग रहेको पटकपटक भन्दै आएको जनाएको छ।
भारतले यसअघि एकतर्फी रुपमा जारी गरेको नक्साबारे गत २० नोभेम्बरमा नेपालले कूटनीतिक नोटमार्फत भारतलाई जानकारी दिइसकेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।
विज्ञप्ति मार्फत नेपालले भारतलाई नेपाली भूमिमा कुनै पनि किसिमको गतिविधि अघि नबढाउन समेत आग्रह गरेको छ।
धार्मिक स्थल कैलाशमान सरोवरलाई जोड्ने धार्चुला लिपुलेक लिङ्क रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो।
नेपाली भूमी लिपुलेकसम्मै भारतले सडक बनाएपछि चौतर्फी विरोध भइरहेको छ।