कोरोना नियन्त्रण गर्न सर्वदलीय संयन्त्र गठन गर्न सरकारलाई राप्रपाको सुझाव

  • प्रकाशित मिति : २०७७ बैशाख ७, आईतवार
  • nepaltale.com

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कोरोना भाईरस महामारी नियन्त्रणका लागि सरकारलाई सर्वदलीय संयन्त्र गठन गर्न माग गरेको छ।

पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आइतबार विज्ञप्ति जारी गर्दै केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुने सुझावसमेत दिएका छन् ।

‘यस सन्दर्भमा सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सदैव सकारात्मक धारणा रहने छ। समस्याको संवेदनशीलता र गंभीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यबारे सबैलाई जानकारी दिन सबैतहमा सर्वदलीय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा अगाडी भनिएको छ, “जागिरबाट निकालिएका,सम्बन्धित सरकार र रोजगारदाताले जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भएपनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गरियोस्।”