भक्तपुर अस्पतालबाट कोरोना परीक्षण गराएका ७३० मध्ये ७२१ जनाको नतिजा नेगेटिभ आएको छ। परीक्षण गरिएकामध्ये नौ जनाको भने रिपोर्ट आउन बाँकी रहेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डागौतमले जानकारी दिनुभयो।
मंगलबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ। काठमाडौँ उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए।
सङ्क्रमित सशस्त्र प्रहरी केही दिनअघि मात्रै रामेछापस्थित घरबाट फर्किएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रामेछाप घर भएका सशस्त्र प्रहरी केही दिनअघि सिन्धुपाल्चोक हुँदै भक्तपुर, चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित कोठामा आएको पाइएको जानकारी दिनुभयो।
नतिजा पोजेटिभ आएपछि दुबैको मङ्गबारदेखि टेकु अस्पतालको आइसोलेशनमा उपचार शुरु भएको प्रजिअ पाण्डेले बताउनुभयो ।