आज मदन आश्रित स्मृति दिवस

  • प्रकाशित मिति : २०७७ जेष्ठ ३, शनिबार
  • nepaltale.com

आज मदन आश्रित स्मृति दिवस । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए । जिप त्रिशूली नदीमा खसेको थियो ।

मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन् । भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको थियो ।

डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेर लेखेको थियो ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको स्मृति दिवस नेकपाले आज लकडाउनका कारण औपचारीक कार्यक्रम नगरेपनि सम्झना गर्दैछ ।