मनसुन छिटो भित्रिने प्रारम्भिक संकेत

  • प्रकाशित मिति : २०८१ जेष्ठ १८, शुक्रबार
  • nepaltale.com

काठमाडौं । यस वर्षको मनसुन नेपालमा सरदर मितिभन्दा छिटो भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुले बताएका छन् ।

मनसुन भारतसम्म आइसकेको छ । केरलाबाट भारत भित्रिएको मनसुन उत्तरपूर्वी क्षेत्रसम्म फैलिएको छ ।

भारतमा सरदर मितिभन्दा दुई दिन अगाडि नै मनसुन भित्रिएको र उत्तरपूर्वी क्षेत्रमा फैलिइसकेकाले नेपालमा पनि छिटो मनसुन भित्रिने प्रारम्भिक संकेत देखिएको मौसमविदहरुको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘नर्थइस्ट इण्डियामा मनसुन फैलिसकेकाले नेपालमा पनि अलि छिटो आइपुग्छ कि भन्ने अनुमान मात्र हो । तर प्रारम्भिक संकेतकै आधारमा ठोकुवा गर्न भने सकिँदैन ।’

जलवायुका विज्ञ डा. धर्मराज उप्रेती दुई दिन अगाडि नै भारतको केरलामा र ६ दिन अगाडि नै आसाम, मेघालयसम्म मनसुन फैलिनुलाई नेपालमा छिटो मनसुन भित्रिने संकेतको रुपमा लिन्छन् । उनका अनुसार मनसुन सरदरमा केरलामा जुन १ तारिख र आसाम मेघालयमा जुन ५ तारिखसम्म पुग्ने गर्दथ्यो । तर यस वर्ष छिट्टै भित्रिएको बताउँदै उनले भनेका छन्, ‘यो वर्षा करिब एक हप्ता अघि नै भारतको आसाम पुग्नुको अर्थ नेपालमा पनि एक हप्ता अघि नै पुग्ने सम्भावना बढेको छ ।’

तर मनसुन छिटो र ढिलो भित्रिनुमा अरु विभिन्न प्रणालीहरुमा भर पर्ने मौसमविद झा बताउँछन् ।