उपत्यकाका १० ठाउँमा सिल, कहाँ-कहाँ हेर्नुहोस्

  • प्रकाशित मिति : २०७७ जेष्ठ ४, आईतवार
  • nepaltale.com

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन थालेपछि काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा सिल गरिएको छ । सिल नगरिएका ठाउँमा पनि स्थानीयले भित्रि सडकमा तारबार लगाएर आवतजावत बन्द गराएका छन् ।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको प्रसुती गृहको आंशिक भाग, टिचिङकै न्यूरो वार्ड, बौद्ध क्षेत्रको कपन राधाकृष्ण मन्दिर क्षेत्र, चन्द्रागिरी नगरपालिका, बालाजु चोक, कालिमाटीका– १३ आसपासको ३०० मिटर क्षेत्र सिल गरिएको छ ।

यस्तै ललितपुरको पुल्चोक निदान अस्पताल, भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी एरियामा पनि सिल गरिएको छ ।

महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलका अनुसार उपत्यकामा उच्च जोखिम बढेपछि कोरोना संक्रमित भएका क्षेत्रहरूमा उच्च सर्तकता अपनाउँदै कडा गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा प्रसुती गराएर फर्किएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोना संक्रमणबाट ज्यान गरेपछि त्यस क्षेत्रमा थप कडाइ गरिएको छ ।

पछिल्लो सयमा काठमाडौं उपत्यकाका त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा पनि कोरोनाको संक्रमण देखिएपछि डाक्टर, नर्स, स्वास्थ्यकर्मीलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सामग्रीबाहेक अन्यलाई आवजावतमा रोक लगाएको थियो भने काठमाडौंका गल्लीमा हिँड्ने मानिसहरू समेतलाई पक्राउ गर्ने आदेश प्रहरीलाई दिएको थियो ।