काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पुराना दलका प्रमुख नेताहरुलाई पासपोर्ट रोक्कादेखि पक्राउसम्म हुन सक्ने संकेत गरेका छन् । आज मन्त्रीपरिषद वैठकपछि पत्रकारहरुसँग बोल्दै उनले कानून बमोजिम आवश्यक प्रक्रिया पुर्याएर अनुसन्धान गरिने बताए ।
गृहमन्त्रीलाई पत्रकारले सरकारले अब कसरी आन्दोलनका दोषिहरुमाथि कारवाही गर्छ भनेर सोधेका थिए ।
अर्यालले जवाफ दिए, ‘राज्यका अनुसन्धान गर्ने निकाय सक्रिय भइएसक्या छन् । तत्तत कानूनमा लेखिएको छ के के गुर्नपर्छ भनेर । त्यहीबमोजिम हुन्छ । प्रधानमन्त्रीले भनिसक्नुभयो कि सुशासन र भ्रष्टाचारको विरुद्धमा सरकारले राम्रैसँग खुट्टा टेक्छ । खुट्टा टेकेन भने त जेनजीहरुले प्रश्न उठाइहाल्छन् नि ।’
उनले सरकारद्वार गठित आयोगले दिने सुझावका आधारमा कारवाही हुने प्रष्ट पारे ।
अर्यालले भने, ‘आयोग गठन भएको छ । आयोगले निस्पक्षरुपमा काम गर्छ । तथ्य पत्ता लगाउँछ । के चिज देख्छ, त्यसको आधारमा अगाडि बढ्ने हो । अगाडि बढेपछि पछाडि फर्किनु पर्दैन । कतिपय विषयवस्तु अहिल्यै हुन सक्ला, कतिपय आयोगले तथ्य पत्ता लगाएपछि हुन सक्ला । मन्त्रीस्तरको प्राटोकल दिइएको छ आयोग पदाधिकारीलाई । न्यायाधीसले नेतृत्व गरेकाले यो न्यायिक आयोग पनि हो । त्यसले निस्पक्षतापूर्वक काम गर्छ र राय पनि दिन्छ ।’
तत्कालीन सरकारका प्रमुख पर्छन् ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यो चाहिँ अब पर्छन् नि । कसकसको संलग्नता छ, आयोगले बताउँछ । पर्छन होला नि ।’
पत्रकारले सोधे, सरकारले नेताहरुको पासपोर्ट रोक्का गर्ने तयारी गरेको हो ?
‘मेरो अहिले पुग्यो’ भन्दै तर्किन खोजे पनि गृहमन्त्रीले यसबारे बोले ।
उनले भने, ‘मैले अगाडि भनिसकेँ कानूनमा सबै कुरा छ । यहाँहरुले पनि हेर्नुहोला । अनुसन्धान गर्ने निकायले के–के रोक्का गर्नुपर्छ, गर्छ । त्यति मात्र किन ? पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनुपर्ने होला । जे हुन्छ अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो ।’