रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल दर्ता हुँदै, भन्छिन्– बालेन, कुलमान, सुमनाको समर्थन छ

  • प्रकाशित मिति : २०८२ कार्तिक १९, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जेनजी आन्दोलनपछिको बहुप्रतिक्षीत टिमले पार्टी दर्ता गर्ने तयारी थालेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ तथा विवेकशील नेपाली पार्टीकी संस्थापक रञ्जु दर्शनासहितले पार्टी दर्ताको तयारी गरेका हुन् ।



उनीहरुले पार्टीको नाम उज्यालो नेपाल वा उज्यालो अभियान राख्ने समझदारी बनिसकेको छ । बालेन र कुलमान अहिले नै पार्टीमा आवद्ध हुने वा नहुने निर्णय नहुँदा पार्टी दर्ताको मिति टुंगो लाग्न सकेको छैन ।

“हामी निर्णायक तहमा पुगिसकेका छैनौँ । छलफल जारी छ,” दर्शनाले भनिन्, “बालेनजीले स्वतन्त्र चुनाव जितेको हुँदा मेयर मात्र बनेर काम गर्ने कि भन्ने छ । कुलमानजीको पनि क्याबिनेटमै बसेर दलमा आवद्ध हुँदा असर पर्छ कि पर्दैन भनेर कन्फर्म गरिसक्नुभएको छैन ।”

उनले दुवै जनालाई सदस्य राखेर दर्ता गर्ने वा समझदारीमा मात्र भन्ने निर्णय पनि भइनसकेको बताइन् । उनले उज्यालो नेपाल, उज्यालो अभियान वा यस्तै नाम राख्नेगरी छलफल अघि बढेको पुष्टि गरिन् ।

“हामी निरन्तर छलफलमा छौँ । उपयुक्त समयमै निर्णयमा पुग्नेछौँ,” दर्शनाले भनिन्, “ऊर्जावान युवाहरुलाई समेटेर पार्टी बनाउने भन्ने समझदारी भने भएको छ ।”