लन्डन । गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी योमन चन्दको सम्झनामा एक श्रद्धान्जलि सभा आयोजना गरी उनलाई अन्तिम विदाइ गरिएको छ ।
केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्वर्गीय चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो।
श्रद्धान्जलि सभाको सुरुमा स्वर्गीय योमन चन्दको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो।

परिवारको तर्फबाट बोल्दै योमन चन्दका दाजु सुजन शाहले अकल्पनीय दुःखको यो घडीमा नैतिक तथा भौतिक सहयोग गर्ने बेलायतस्थित नेपाली समुदाय एवं संघसंस्थाप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे। नेपाली समुदायले देखाएको स्नेह र दरिलो सहयोगका कारण आफूहरुले कहिल्यै परदेशमा रहनु परेको जस्तो अनुभूति गर्नु नपरेको उनले जनाए। उनले योमनले चांडै नै छोडेर गए पनि उनको स्वर्गमा बास होस् भन्ने कामना गरे।
श्रद्धान्जलि सभामा लन्डन बरो अफ बार्नेटका पूर्व डेपुटी मेयर काउन्सिलर लक्ष गुरुङलगायत समाजका अगुवाहरुको उपस्थिति थियो।
एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ३ निवासी योमन चन्दको गत मंगलबार (११ नोभेम्बर) आकस्मिक निधन भएको थियो।
युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना बनाएका थिए।
उनको शव शुक्रबार कतार एयरवेजबाट काठमाडौँ पठाइने र त्यसपछि सल्यानस्थित आफ्नै गाउँमा लगेर अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ।