निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूलाई इमेलमार्फत त्रुटि सुधार गर्न निर्देशन दिइएको हो।
आयोगले दलहरूले पेस गरेका बन्दसूचीको अध्ययन गर्दा विभिन्न त्रुटि फेला पारेको जनाएको छ। अध्ययन क्रममा एकै व्यक्तिको नाम दुई फरक कलस्टरमा समावेश गरिएको, एउटा समूहमा पर्नुपर्ने व्यक्तिको नाम अर्को समूहमा राखिएको लगायतका समस्या देखिएका छन्। यस्ता त्रुटि नेपाली कांग्रेस र नेकपा एमालेको सूचीमा समेत भेटिएको आयोगले जनाएको छ।
त्यस्तै, केही दलले बुझाएको सूचीमा उम्मेदवारको हस्ताक्षर नभएको तथा पिछडिएको क्षेत्रका नाममा समावेश व्यक्तिहरूको नागरिकता विवरण जाँच गर्नुपर्ने अवस्था देखिएको आयोगले स्पष्ट पारेको छ। यिनै विषय प्रष्ट पार्न र नमिलेका विवरण मिलाउन दलहरूलाई इमेलमार्फत जानकारी गराइएको हो।
पुस १३ र १४ गते दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची आयोगमा बुझाएका थिए। त्यसको अध्ययनपछि आयोगले आइतबार त्रुटि सच्याउन आग्रह गरेको हो। दलहरूले आजदेखि पुस २७ गतेसम्म आयोगले औंल्याएका त्रुटि सच्याउन सक्नेछन्।
उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिन चाहनेले पुस २८ गते समय पाउनेछन्। यदि कसैले नाम फिर्ता लिएमा आयोगले त्यसको जानकारी सम्बन्धित दललाई पुस २९ गते दिनेछ। रिक्त हुन आएको स्थानमा सोही समूहको अर्को उम्मेदवार मनोनयन गरी पुस ३० गतेसम्म आयोगमा सूची पेस गर्नुपर्ने कार्यतालिका छ।
आयोगका अनुसार माघ ४ गते उम्मेदवारको बन्दसूची प्रकाशन हुनेछ। त्यसपछि माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध गर्न सकिनेछ। माघ ११ देखि १७ गतेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरी निर्णय गरिनेछ भने माघ २० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अन्तिम बन्दसूची प्रकाशन गरिने आयोगले जनाएको छ।