आज (शुक्रबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको हो।
गत मंगलबारदेखि बिहीबारसम्म लगातार ३ डिग्री सेल्सियसमा रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको हो। देशभरका स्थानमध्ये आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
मौसम महाशाखाले उपलब्ध गराएको विवरणअनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रम धनगढीमा ६.८ डिग्री सेल्सियस रहेको छ।
महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गर्ने गर्छ। न्यूनतम तापक्रम दिनको सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम सबैभन्दा माथि पुगेको तापक्रम हो।
हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हुस्सु लागेको छ भने देशका बाँकी तराईका धेरै स्थानमा कुहिरो लागेको छ।
आज बिहान जारी गरिएको बुलेटिनअनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति पनि तराईका केही स्थानमा हुस्सु रहने अनुमान गरिएको छ।
मौसम महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको छ।