आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार (पुस २७) देशभर विविध कार्यक्रम गरी मनाइँदै छ।

वि.सं. १७७९ मा जन्मिएका शाहको स्मृतिमा आज मुलुकभर श्रद्धाञ्जली कार्यक्रम, माल्यार्पण तथा विभिन्न सांस्कृतिक र वैचारिक कार्यक्रम आयोजना गरिएका छन्। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले पुर्‍याएको योगदानको सम्मानस्वरूप सधैँझैँ यस वर्ष पनि सिंहदरबार पश्चिम ढोका अगाडि रहेको उनको सालिकमा पुष्पहार अर्पण गरिएको छ।



पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चियापान समारोह आयोजना गरेको छ। सो कार्यक्रममा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको राप्रपाले जनाएको छ। शाहको जन्मस्थान गोरखामा पनि प्रत्येक वर्षझैँ विशेष कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरेको छ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यहरूलाई एकीकृत गर्दै आधुनिक नेपालको जग बसालेका थिए। विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको सहयोग र सहभागितामा एकीकरण अभियान सफल बनाएका शाहको १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएको थियो। उनले २० वर्षको उमेरमा गद्दी आरोहण गरी आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै राष्ट्रिय एकीकरण अभियान अघि बढाएका थिए।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र राष्ट्रिय गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सुदृढ बनाउने सन्देश दिने विश्वास गरिएको छ। यस दिवसले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रवाह गर्नुका साथै युवापुस्तामा मातृभूमिप्रति सेवा, समर्पण र जिम्मेवारीको भावना जागृत गराउने अपेक्षा गरिएको छ।

शाहको एकीकरण अभियानकै कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एकका रूपमा आफ्नो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता जोगाउन सफल भएको मानिन्छ। उनका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ जस्ता दिव्योपदेश आज पनि सुशासन र भ्रष्टाचार न्यूनीकरणका सन्दर्भमा उत्तिकै सान्दर्भिक छन्।

भौगोलिक संवेदनशीलतालाई ध्यानमा राख्दै शाहले नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिएका थिए। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।