प्रमुख शीर्ष दलमध्ये सबैभन्दा बढी नेकपा (एमाले)बाट ५ जना उम्मेदवारले समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिनका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।
आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ पुस १३ र १४ गते पेस गरिएको बन्दसूचीमा रहेका उम्मेदवारबाट शीर्ष दलमा एमालेबाट ५ जनाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।
एमालेबाट नाम फिर्ता लिनेमा खस आर्यतर्फ ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल, आदिवासी जनजातितर्फ विजयसिंह लामा र हिरुसरा राना र मधेशीतर्फ अंशु सिंह रहेका छन् ।
यस्तै काँग्रेसबाट खस आर्यतर्फ ध्रुवबहादुर मल्ल र सृजना मल्ल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मधेशीतर्फ अरविन्द दास र कमलराय यादवले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भने एक जना सुनिता न्हेमाफुकीले निवेदन दर्ता गराएका छन् ।